विश्व बैंकले अर्थमन्त्रीलाई भन्यो – निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुस्

.
काठमाडौं, १७ । विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

मङ्गलबार बिहान अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा उनले नेपालको आर्थिक वृद्धिमा सहयोग गर्ने भन्दै निजी क्षेत्रसँगको सहकार्यमा सरकारले काम गर्नुपर्ने बताएका हुन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुटले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिएको उल्लेख छ । ‘निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न विश्व बैंकले सहयोग गर्नेछ,’ जुटले भने ।

नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने पनि जुटले बताए । लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदुषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि उसले सहयोग गर्ने छ ।

नेपालको अर्थतन्त्रका परिसूचकहरु सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको पनि जुटले बताए । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरु पहिचान हुन सक्ने विश्वास पनि उनले व्यक्त गरे ।

उपप्रधानमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको पनि उले बताएका छन् ।

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै पौडेलले विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने जानकारी दिए । विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा पनि उनले गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here