काठमाडौं, १ चैत
लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छूट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । चैत्र १५ देखि भूकम्प प्रभावित सबै जिल्लामा प्राधिकरणबाट सर्वेक्षणका लागि इन्जिनियर खटिने प्राधिकरणले जानकारी दिएको छ ।
निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए । घिमिरेका अनुसार छूट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो ।
चैत्र १५ बाट शुरु हुने सर्वेक्षणमा करीब ५ सय ५० इञ्जिनियर परिचालन गरिने बताइएको छ । प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध समेत गरेको छ । सर्वेक्षण स्थानीय तहसँगको समन्वयमा संचालन हुनेछ । सर्वेक्षण २०७६ बैशाख मसान्त सम्म चल्नेछ ।