७ असोज, काठमाडौं । सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरिएको हाे।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि घरभन्दा केही पर आँप बगैंचामा शव फेला परेको हो ।
परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकाे आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए ।























