असोज ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए।
आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनले बताए ।
अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको जानकारी दिए । ‘हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दालदन पछि सरकारी तथा निजी सम्मपतीमा ठूलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ’ उनले भने।
यद्यपी वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको जानकारी दिए ।
उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे ।
महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरुमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताए । उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने जानकारी दिए।
महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यक्ता भएको बताए ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने जानकारी दिए ।


















