८ असोज, काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालै निलम्बन, छानबिन र कारबाही गार्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्।
अधिकारीले निगमभित्र बसेर दोहन गरेको भन्दै उनलाई कारबाही गर्न भन्दै प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिएका हुन् ।
यो निवेदनको बोधार्थ उनीहरुले जेनजी अगुवा सुदन गुरुङ तथा मुख्य सचिव एकनारायण अर्यालकहाँ पनि पठाएका छन् ।
आफ्नो कार्यकाल सकिँदै गर्दा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको आरोप लगाइएको छ ।
त्यस्तै, कम्पनीसँग एनटीएमार्फत प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको भनिएकाे छ।
त्यस्तै, उनी बिरुद्ध अन्तर्राष्ट्रिय टिकट बिक्रिमा अमुक ट्रभल एजेन्सीसँगको मिलेमतो गर्ने गरेको आरोप कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय स्टेशनहरुमा जनरल सेल्स एजेन्ट नियुक्ति भएको तर त्यसमा करोडौँ घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ । जीएसए आवश्यक नभएको ठाउँमा समेत जीएसए नियुक्तिको प्रकृया अगाडी बढाएको आरोप पनि जेनजी कर्मचारीको छ ।






















