काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको भन्दै लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्।
ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह समेत गरे । साथै जेनजीको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो ध्यान रहेको बताए।
उनले राष्ट्रलाई शान्ति र समृद्धको बाटोमा सबै पक्षलाई आग्रह गरे। ‘जेनजी घरैपिच्छे छन् जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ ओलीले प्रश्न गरे, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ। यसरि नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?
ओलीले जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरे। उनले भदौ २४ गते आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत बताए।
उनले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरूले नसक्ने दाबी गरे। पूर्वप्रधानमन्त्री ओलीले जेलबाट निस्किएका कैदीबन्दीलाई कारागार फर्कन आग्रह गरे। उनले प्रहरीका खोसिएका हातहतियार बुझाउन समेत आह्वान गरे।

























