१४ असोज, काठमाडौं । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्याउने सम्भावना रहेकाे बताइएकाे छ ।
असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने देखिएकाे हाे।
असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।
असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।




















