२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर’ बस्नेतले भने । ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’
जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको छ ।
बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् ।
दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।
‘महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’
जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए ।
‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ । यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ ।’























