३ अर्ब लगानीमा सेनाले भित्रायो नयाँ जहाज

तस्वीर : रासस

काठमाडौं, १६ कात्तिक । नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । सेनाको सीएन२३५–२२० जहाज शनिबार बिहान काठमाडौं आइपुगेको हो । सेनाले यसलाई कार्गो ओसार पसारमा प्रयोग गर्ने योजना बनाएको छ ।

सेनाले यो जहाज इण्डोनेशियाबाट खरीद गरी ल्याएको हो । ‘मिडियम फिक्सविङ’ क्षमताको कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो ।

विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ ।

कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् ।
कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।

सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् ।

त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here