क्लाउड पत्रिका संवाददाता
३१ असोज, काठमाडौं । अब सबै प्रकारको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत हुने भएको छ । अहिले ५० करोड सम्मको लगानी मात्र अटोमेटिक रुटबाट स्वीकृत हुँदै आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक सेवा सुधारका लागि साढे तीन दर्जन बुँदामा योजना सार्वजनिक गरेका छन् । जसमा आगामी मंसिर भित्र सबै प्रकारको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत गराउने उल्लेख छ । यसका लागि राजपत्रमा सूचना प्रकाशनको तयारी समेत मन्त्रालयले गरेको छ ।
भदौसम्मको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो दुई महिना (साउन–भदौ) मा ३३ अर्ब ९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार भदौसम्म ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिसम्म अटोमेटिक रुटबाट १ अर्ब ३६ करोड र अप्रुभल रुटबाट ३१ अर्ब ७२ करोड ३८ लाख एफडीआई स्वीकृत भएको छ । भदौमा मात्र ८ अर्ब ९८ करोड ७० लाख एफडीआई स्वीकृत भएको छ ।
साउनको तुलनामा भदौमा एफडीआई स्वीकृति घटेको पाइएको छ । विभागका अनुसार साउनमा २४ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको थियो । उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबर चिनियाँ लगानी स्वीकृत गरेको थियो । जसले गर्दा एफडीआई ह्वात्तै बढेको थियो ।
भदौमा समेत ठूला र मझौला उद्योगमा लगानी आएको देखिन्छ । दुई महिनामा कुल २ सय ३६ उद्योग दर्ता भएको विभागको तथ्यांक छ । यसरी दर्ता भएका उद्योगमध्ये ठूला उद्योग ७ छन् । जसमध्ये भदौमा मात्र ५ ठूला उद्योग दर्ता भएको देखिन्छ ।
दुई महिनामा ४ मझौला उद्योग दर्ता भएकोमा सबै भदौ महिनामा दर्ता भएका हुन् । कुल २ सय २५ साना उद्योग दर्ता भएकोमा १ सय उद्योग भदौमा दर्ता भएको विभागले जनाएको छ ।
आईटी र पर्यटनमा केन्द्रित एफडीआई
तथ्यांक अनुसार सूचना प्रविधि (आईटी) र पर्यटनमा एफडीआई बढी केन्द्रित देखिन्छ । दुई महिनामा दर्ता उद्योगमध्ये आईटीमा १ सय २० उद्योग दर्ता छन् । यो कुल दर्ताको ५१ प्रतिशत हो । दोस्रो स्थानमा पर्यटन छ । पर्यटनमा ७९ उद्योग दर्ता भएको देखिन्छ । जुन ३४ प्रतिशत हो ।
यसबाहेक सेवा १५, उत्पादन १२, कृषि ९ र ऊर्जामा १ उद्योग दर्ता भएको देखिन्छ । लगानीका हिसाबले दुई महिनामा सबैभन्दा धेरै कृषिमा प्रतिबद्धता आएको छ । कृषिमा २१ अर्ब ५९ करोड लगानी प्रतिबद्धता आएको छ । दोस्रो स्थानमा ६ अर्ब ६९ करोड रुपैयाँ सहित पर्यटनमा बढी लगानी प्रतिबद्धता आएको छ ।



















