छुट्टाछुट्टै दूर्घटनामा ५ को निधन, दर्जनौं घाइते

काठमाडौं, १६ कात्तिक । शनिबार देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दूर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । दर्जनौं मानिस घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् । दूर्घटनामा परी ३६ जना घाइते भएका छन् ।

घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।

उता, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतमा शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

उता सप्तरीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु भएको छ । २० जना घाइते छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा शनिबार बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यता, हात्ती धपाउन लगाइएको करेन्ट लागेर झापामा मामा–भान्जाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर शनिबार उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here