बनेपाको फोहोर व्यवस्थापन जापानी प्रविधिबाट

बनेपा, १६ कात्तिक । बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनमा जापानी प्रविधि भित्राउने भएको छ । धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने तयारी भएको नगरपालिकाले जानकारी दिएको छ ।

यसका लागिनगरपालिकाले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) खरीद गरेको छ । फोहर जलाउने मेशिन वडा नं ९ स्थित कृषि फार्ममा राखिने भएको छ ।

“बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ, तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ”, नगर उपप्रमुख रेखा दाहालले भनिन् ।

उनका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ । बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ । करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पु¥याइँदै आइएको छ ।

यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताए ।

मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताए । ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’’, उनले भने ।

उनका अनुसार मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलाउन सक्छ । बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ ।

हाल ल्याइएको उक्त मेशिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेशिन ल्याइने नगरप्रमुख वादेले बताए । “अबको केही दिनमै मेशिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ”, उनले भने ।

मेशिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेशिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ । मेशिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले जानकारी दिए ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here