४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।
मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्ताे बताएकी हुन् । उनले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ ।’
तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् ।
राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ ।
प्रम कार्कीले आआफ्नो ठाउँबाट काम भइरहेको भन्दै बोल्न नछाड्न समेत आग्रह गरिन । ‘ हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला,’ कार्कीले भनिन् ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी थिए ।
छलफलमा जेनजी आन्दोलनका घाइतेहरू सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका दिएका प्रधानमन्त्री कार्कीको सचिवालयले उल्लेख गरेको छ ।
भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्ने घाइतेहरूले चेतावनी पनि दिएका छन् ।
‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको प्रधानमन्त्री कार्कीलाई प्रश्न थियो ।
कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

























