नेपाली मुद्रा कमजार हुँदा सवा ४० अर्ब अतिरिक्त सार्वजनिक ऋण भार थपियो

अमेरिकी डलरलगायत विदेशी मुद्राको भाउ बढेका कारण नेपालले तिर्न बाँकी सार्वजनिक ऋणमा गत असोजमा पनि ४० अर्ब २६ करोड रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

गत साउनमा भने यही कारणले अतिरिक्त भार नपरे पनि भदौमा ५५ अर्ब २३ करोड थपिएको थियो । गत भदौ र असोजमा विदेशी मुद्राको विनिमय दरमा बढेकाले नेपाली मुद्रा कमजोर बन्दा तिर्न बाँकी सार्वजनिक ऋणमा अतिरिक्त भार थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ ।

डलरको विनिमय दर घट्दा नेपाललाई लाभ हुन्छ भने बढ्दा हानि । २०८१ असारदेखि गत असारसम्म नेपाली मुद्रा कमजोर भएकै कारण तिर्न बाँकी सार्वजनिक ऋणमा थप ६६ अर्ब ९३ करोड अतिरिक्त भार थपिएको थियो । २०८२ असार मसान्तको तुलनामा गत भदौमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको थियो ।

विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा रहेको छ भने बाँकी वर्षमा नाफामा छ ।

असोजसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण् २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत भदौको तुलनामा तिर्नबाँकी सार्वजनिक ऋण केही घटेको छ । गत भदौसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । भदौ मसान्तदेखि असोजसम्म सरकारले उठाएको सार्वजनिक ऋण भन्दा भुक्तानी गरेको धेरै रहेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण घटेको हो ।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७८ अर्ब ७ करोड (जीडीपीको २०.९३ प्रतिशत) र बाह्य १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ (जीडीपीको २३.६९ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।

गत असार मसान्तको तुलनामा असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको हो । उक्त अवधिमा १ खर्ब ८४ अर्ब ऋण प्राप्ति हुँदा १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये ९० अर्ब ५० करोड रुपैयाँ साँवा र बाँकी १९ अर्ब ३८ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण सो अवधिमा उठाइएको १ खर्ब ८४ करोड साँवा भुक्तानीमा खर्च भएको ९० अर्ब ५० करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४० अर्ब २६ करोड जोड्दा गएको दुई महिनामा ५० अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।

गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोजमा) मा सरकारले १ खर्ब ८४ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यस अवधिमा संकलित सार्वजनिक ऋण वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो ।

गएको तीन महिनामा आन्तरिक ऋणको प्राप्ति ९० अर्ब (वार्षिक लक्ष्यको २४.८६ प्रतिशत) र बाह्य ऋण १० अर्ब ८४ करोड (वार्षिक लक्ष्यको ४.६४ प्रतिशत) छ । यस वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तोकेको छ । आन्तरिक ऋणको प्राप्ति राम्रो भए पनि बाह्यको निकै कम रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनले देखाएको छ ।

गत साउन, भदौ र असोजमा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरेको छ । यो वार्षिक लक्ष्यको २६.७४ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याजका लागि ९६ अर्ब ४१ करोड (२८.०६ प्रतिशत) र बाह्य ऋणको साँवा तथा ब्याजका लागि १३ अर्ब ४७ करोड (१९.९८ प्रतिशत) खर्च भएको कार्यालयको तथ्यांक छ । यो आर्थिक वर्ष सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गत असोजसम्मको कुल तिर्न बा“की सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here