काठमाडौं । फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ। गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले घरेलु बक्सअफिसमा बुधबारसम्म ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ।
गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ लाई पछि पार्दै सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेकाे हाे। ‘ऊनको स्वीटर’ बक्सअफिसमा ११ करोड ४१ लाख कलेक्सन गर्दै पहिलो नम्बरमा थियो। ‘जेरी अन टप’फिल्म अहिले पनि देशभरका सय बढी हलहरूमा प्रदर्शनमा छ।
स्टार अभिनेता अनमोल केसीको स्टारडमले याे फिल्म हिट हुन सहयाेग गरेकाे छ। त्यसाेत सुयाेग गुरुङ निर्देशित सामाजिक, पारिवारिक र प्रेमिल कथाको समिश्रण ‘जेरी अन टप’ले देशकै पहिचान बोकेको सगरमाथाको कथालाई बलियोसँग प्रस्तुत गरेको छ।
फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी प्रमुख अभिनयमा छन्।
अष्ट्रेलिया, अमेरिका, जापान तथा युरोपका देशहरूमा एकसाथ प्रदर्शनमा रहेको फिल्मले ग्लोबल बक्सअफिसमा हालसम्म १७ करोड कलेक्सन गरिसकेको छ।


























