`
काठमाडौं, २६ कात्तिक । आइएमई लिमिटेडले २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा आयोजित सभामा बोल्दै कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
रेमिटेन्स सेवा उद्योग क्षेत्रमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहेको भन्दै उनले प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार तथा विविधीकरण गर्ने बताए । यसलाई पूर्ण फाइनान्सियल सोल्युसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि ढकालको भनाइ थियो ।
आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याएको बताए ।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलका अनुसार आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने कम्पनीको योजना छ ।


























