अब रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान

रासस
काठमाडौं । रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ।

नेपाल वायुसेवा निगम स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो।

अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए।

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो।विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ।निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here