काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेकी छन् । उनले फोनवार्ता मार्फत नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् । मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् । उमेर पुगेर पनि मतदातामा नामावलीमा नाम नभएकाहरू मतदानको अधिकारबाट बञ्चित हुनेभन्दै नाम दर्ताको समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ । आयोगको कार्यालयहरूमा मतदाता नामावलीमा नाम लेखाउनेहरूको भीड बढेपछि आयोगले अनलाइनबाट समेत आवेदन लिन थालेको हो।
आयोगले राष्ट्रिय परिचय पत्र भएकाहरूले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
अनलाइनबाटै आवेदन लिन थालेपछि मतादाता नामावलीमा नाम दर्ताको गर्नेको संख्या बढेर आयोगको सर्भर समेत बेलाबेला अवरुद्ध भइरहेको छ ।






















