१२ मंसिर, काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ । विपतमा २१ जना बेपत्ता छन्।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला जिल्लामा राति आएको पहिरोमा २१ जनाको मृत्यु भएको छ। दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेकाेले
शुक्रबार थप खराब मौसमको सम्भावना भएकोले त्यसका लागि तयारी गरिएको छ। ‘
‘दित्वाह’ पहिले यसको पूर्वी तट नजिकै एक गहिरो दबाबको अवस्थाको रूपमा सुरु भएको थियो। पछि यो द्रुत गतिमा बढेर एक चक्रवात बन्यो। यो भारतको तटमा ल्यान्डफल (तटमा प्रवेश) गर्न सक्ने बताइएको छ।
विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् । मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।
निरन्तरको वर्षाले मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् ।
आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू गरिरहेका छन्ने। त्यस्तै सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।























