खजुरिकाे ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन

२१ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन क्रममा संकलन गरेका पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम भन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।

खजुरीको उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको विभागले बताएकाे छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ ।

परीक्षणका क्रममा खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा बढी रहेको पाइएपछि विभागले उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ । विभागले ललितपुर गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।

विभागले ऐनको दफा ३८ (२) र (४) को प्रावधान अनुसार उक्त ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा थप बिक्री वितरण नगर्न र नगराउन पनि निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here