सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला

काठमाडौं १८ कात्तिक । बझाङको कालङ्गागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

उनीहरू आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र थुनिएका थिए । उनीहरूको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको उद्धार प्रयास सफल हुन नसकेपछि सोमबार काठमाडौँबाट उद्धार टोली झिकाइएको थियो ।

सोमबार दिउँसो हेलिकोप्टरमार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको प्रहरीले जनाएको छ ।

सुरुङमा फसेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका १ का शेरसिंह धामी रहेका छन् ।

अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here