१३ पुस, काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्तामा पनि उत्साह देखिएकाे छ।
यससँगै आइतबार सेयर बजार परिसूचक करिब २ प्रतिशत बढेको छ ।
कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर २६३३.४२ अंकमा पुगेको छ । आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी कारोबार रकम पनि बढेर साढे ५ अर्बभन्दा माथि पुगेको छ । आइतबार नेप्सेमा ३ सय २८ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २ सय ५९ कारोबारबाट ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।
आइतबार मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । यता विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


























