काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । हवाई इन्धनको भाउ घटेपछि विभिन्न गन्तव्यको भाडा घटेको हाे ।
नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो ।
समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।
काठमाडौं–भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ ।
जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । त्यस्तै मान्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ ।























