वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु

काठमाडौं । वीरगञ्जमा साेमबारदेखि जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेकाे थियाे।

वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हाे।

कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन प्रशासनले अनुरोध गरेको छ ।

कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गर्न अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here