सद्‍भाव खलल पुर्‍याउने एसएमएस पठाइएमा सम्झौता रद्द हुने टेलिकमकाे चेतावनी

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भ्यालु एडेड सर्भिस सेवा प्रदायकलाई सचेत गराएको हो । टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीसमक्ष पठाउँछन् ।

‘जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने कार्य पुनः दोहोर्‍याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बीचको सम्झौता नै रद्द गर्न सकिने छ’ कम्पनीले विज्ञप्तिमा उल्लेख छ ।

सेवा प्रदायकले नै सेवाग्राहीको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । ‘यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन’ टेलिकमले भनेको छ ।

हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसाय भन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरमा समेत प्रवाह गरेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरुबाट समेत गुनासो प्राप्त भएको टेलिकमले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here