राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य

६ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य देखाउन पर्ने छ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न मतदातासँग परिचय खुल्ने सरकारी कागजात चाहिने बताएका हुन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।

मतदान गर्न जाँदा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतवाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र भए पनि मतदान गर्न पाइनेछ ।

प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र मध्य एउटा प्रमाण चाहिन्छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । राष्ट्रपतिबाट मनोनित सांसद्को ठाउँका सरकारको सिफारिसमा राष्ट्रपतिले अर्को व्यक्तिलाई मनोनित गर्नेछन् । बाँकी १८ पदका लागि माघ ११ मा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here