काठमाडौं । केहि दिन देखि लगातार घटेकाे नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार करिब ९ अंक बढेको छ ।
बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको हाे ।
बिहीबार नेप्से सूचक ८.९७ अंक बढेर २६७१.०७ बिन्दु पुगेको छ ।
आज नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।
बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंक घटेका छन् ।
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिने नेप्सेमा ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

























