काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्युलाई निरन्तरता दिइएको हाे।
कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । साथै यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना शुरु हुँदा हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरदेखि अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेपछि प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरेकाे थियाे।

























