काठमाडौं । बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् ।
परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रबद्र्धन गर्न सधै तत्पर रहेको भन्नुहुँदै बर्दघाट एसएमइ भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमइ ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानी मध्ये एक तिहाई जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उहाँले जोड दिए।
नवलपरासी जिल्लामा ठूला उद्योगहरु स्थापित भईसकेका, सडक पूर्वाधार बनेकालगायतका कारणले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाई थियो । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमुलक उद्योगहरु बढ्नेमा उहाँले विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकरणमा टेवा दिने बताए । उनले गोल्छा गु्रप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत बताए । देशमा रोजगारीको ठूलो समस्या रहेको, रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेशीएको भन्नुहुँदै उहाँले रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए । उद्योग स्थापना भए रोजगारी बढ्ने, अर्थतन्त्रको विकास हुने भएकाले उद्योग स्थापना अनिवार्य रहेको जानकारी दिए ।
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा उत्पादनमुलक उद्योगहरुको योगदान घटेर ५ प्रतिशतमा आइसकेको र जीडीपीमा उद्योगहरुको योगदान कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जाेड दिए । बंगलादेश, भारतले सफल रुपमा औद्योगिक पार्क संचालन गरिरहेको र उनीहरुको अर्थतन्त्रमा योगदान दिएको भन्नुहुँदै उहाँले हाम्रोमा पनि उनीहरुले दिएको जस्तो सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्ने बताए । उद्योग विकासका लागि स्थानीय नेतृत्वकर्ताको स्पष्ट दृष्टिकोण/मनस्थितीले ठूलो काम गर्ने भएकाले नवलपरासीमा उद्योगहरुको संख्या बढिरहेको उनले उल्लेख गरे । यस क्षेत्रमा पनि एमएडब्लू स्कील एकेडेमी विस्तार गर्न इच्छुक रहेको उनले बताए । एमएडब्लू स्कील एकेडेमी काठमाडौं र जनकपुरमा संचालनमा आइसकेको छ ।
यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरीया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमइ भिलेजलाई सफल बनाउनुपर्ने उनकाे भनाइ थियाे ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरुको प्रबद्र्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरुले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे ।
उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले बर्दघाटको भौगोलिक पहुच उद्योग स्थापनाका लागि महत्वपूर्ण रहेको बताए । साथै भारतसँगको सीमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको जानकारी दिए । साथै, विद्युत, यातायात सञ्जाल, दक्ष तथा अर्धदक्ष जनशक्तिको उपलब्धताले लगानीकर्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रमा कृषि तथा कृषिमा आधारित उद्योग, लघु तथा साना उद्योग, पर्यटन तथा धार्मिक पर्यटन, गोदाम, ढुवानी तथा लजिष्टिक सेवा, उर्जा तथा हरित उद्योगका लागि उपयुक्त रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युतलगायतका पूर्वाधारका कारण नयाँ उद्योगहरु संचालन गर्न सहज हुने बताए। उनले बर्दघाट एसएमइ भिलेजमा ठूला उद्योग समेत ल्याउने सक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठूला उद्योगहरुका लागि राम्रो सम्भवना देखिएको जानकारी दिए । २५० भन्दा बढी वित्तीय संस्थाहरुको उपस्थिती यस क्षेत्रमा रहेकाले वित्तीय पहुँच सहज रहेको बताए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले देशमै केही गर्छु भनेर युवाहरुले उद्यम गरिरहेको र यस्ता उद्यमी युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । युवाहरु विदेश पलायन भईरहेको अवस्थालाई समेत आत्मसाथ गरी उद्यमशीलता प्रबद्र्धनमा सहयोग गर्ने नीतिले मात्रै उनीहरुलाई देशमै रोकेर उद्यम बन्न प्रोत्साहित गर्ने उनले बताए ।






















