काठमाडौं । निर्वाचन आयोगले मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् । बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ताे बताएका हुन् । साे अवसरमा उनले मतपेटिकाकाे सुरक्षामा कुनै पनि सम्झौता नहुने बताए ।
मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने जानकारी दिए ।
उनका अनुसार मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए ।
‘मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठीक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना शुरु हुन्छ । त्यसैले यस्ता शंका र उपशंकामा कुनै सत्यता छैन’ उनले भने।
दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे ।
























