गलेश्वर,२१ कात्तिक । यस वर्षको शरद याममा संसारको सातौं अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि ३ समूहका ३१ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरूबाट ३२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी उठेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भएपनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।
अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको संख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिखमा अष्टेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ ।
तर विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भएपनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो ।
हालसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । (रासस)