काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आएको छैन । वायु प्रदूषण आज पनि निकै अस्वस्थको तह नजिकै छ। रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९६ छ। २०० भन्दा माथि पुगे निकै अस्वस्थ मानिन्छ । त्यस्तै १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको हुन्छ ।
काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली, दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।






















