अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबीच आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल समेत सहभागी थिए ।

अर्थ सचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समयसीमा परिवर्तन लगायत विषयमा जानकारी गराए । बजेट तथा कार्यक्रम महाशाखा सहसचिव डा। सुमन दाहालले आगामी आवको बजेट तयारीको हालसम्मको अवस्थाबारे जानकारी गराए ।

विषयगत मन्त्रालयका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमसँग सम्बन्धित स्थिति र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने बताए ।

राज्यको अनिवार्य दायित्व १ हजार ३ सय ३० अर्ब र राजस्व १ हजार १ सय ८० अर्ब रहेको अवस्थामा नागरिकका आकांक्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको समेत उनले बताए ।

बजेटका लागि सिद्धान्तका रूपमा सुशासन तथा संस्थागत सबलीकरण, सदाचारिता नीति अवलम्बन, फराकिलो आर्थिक वृद्धिसहित आर्थिक विकास, निजी लगानी, सूचना प्रविधि विस्तार, पूँजी निर्माणका लागि पूर्वाधार विकास, मध्यमस्तरीय वर्ग विकास, विपन्न वर्ग उत्थान र सौम्यशक्ति विस्तारजस्ता सैद्धान्तिक आधार मध्यनजर गर्दै बजेट तथा कार्यक्रम छनोट गर्नुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयको बाध्यता र सीमा सबै मन्त्रालयलाई जानकारी भएको र सोही बमोजिम आफ्ना मन्त्रालयको प्राथमिकता निर्धारण गरी बजेट निर्माण कार्यमा लाग्न अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here