
१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिता हुँदैछ । यो सहभागिताका दृष्टिकोणले यति भब्य हुन लागेको हो । उत्तर अमेरिकाका तीन राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको—ले फिफा विश्वकप संयुक्त रूपमा आयोजना गर्दैछन् । यो २३औँ संस्करणको विश्वकप हो । जुन ११ बाट विश्वकपका खेल सुरु हुँदैछन् ।
१. ४८ टोली सहभागि
सन् १९९८ देखि चल्दै आएको ३२ टोलीको ढाँचालाई परिवर्तन गरी पहिलो पटक ४८ राष्ट्रहरूले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। यसले गर्दा एसिया र अफ्रिकाका थप देशहरूलाई विश्वकप खेल्ने अवसर मिलेको छ ।
२. तीन देशद्वारा संयुक्त आयोजना
विश्वकपको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रहरूले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले मात्र संयुक्त आयोजना गरेका थिए।
३. १०४ खेलको कीर्तिमान
टोली संख्या बढेसँगै खेलको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। यसपटक कुल १०४ खेलहरू हुनेछन्, जबकि यसअघि ६४ खेल मात्र हुने गर्थे। प्रतियोगिता झण्डै ४० दिनसम्म चल्नेछ।
४. नयाँ समूह ढाँचा
सहभागी ४८ टोलीहरूलाई १२ वटा समूहमा विभाजन गरिनेछ (प्रत्येक समूहमा ४ टोली) । समूहका शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो हुने ८ टोलीहरू अर्को चरणमा प्रवेश गर्नेछन्।
५.राउन्ड अफ ३२ को सुरुवात
खेल संख्या बढेकाले नकआउट चरणमा अब सिधै राउन्ड अफ १६ नभई राउन्ड अफ ३२ बाट सुरु हुनेछ। यसको अर्थ विश्वकप जित्ने टोलीले अब कुल ८ वटा खेल खेल्नुपर्नेछ।
६. १६ आयोजक सहर र अत्याधुनिक रंगशालाहरू
प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ वटा सहरमा आयोजना हुनेछ। खेलहरू विश्वकै अत्याधुनिक र उच्च क्षमताका रंगशालाहरूमा खेलाइनेछन्।
७. ऐतिहासिक रंगशाला एज्तेका
मेक्सिकोको एस्टेडियो एज्तेका रंगशाला तीनवटा विश्वकप (१९७०, १९८६ र २०२६) आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ। उद्घाटन खेल यही ऐतिहासिक मैदानमा हुने तय भएको छ।
८. फाइनल खेल न्यु जर्सीमा
विश्वकप २०२६ को फाइनल खेल १९ जुलाईमा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जसको दर्शक क्षमता ८२,५०० भन्दा बढी छ।
९. डिजिटल अवतार र एआई प्रविधि
खेलाडीहरूको प्रदर्शन विश्लेषणका लागि ३डी डिजिटल अवतार र अत्याधुनिक जेनेरेटिभ एआई को प्रयोग गरिनेछ। यसले दर्शकहरूलाई खेलको विस्तृत तथ्याङ्क र नयाँ अनुभव प्रदान गर्नेछ।
१०. ठूलो आर्थिक लक्ष्य र पर्यटन
फिफाले यस विश्वकपबाट करिब ११ बिलियन डलर आम्दानी गर्ने लक्ष्य राखेको छ। तीनवटा देशमा आयोजना हुने हुनाले लाखौँको संख्यामा पर्यटकहरू उत्तर अमेरिका पुग्ने र यसले ठूलो आर्थिक हलचल ल्याउने अपेक्षा गरिएको छ।
एजेन्सीहरुको सहयोगमा



















