मौद्रिक नीतिको तेस्रो समिक्षाः कार्यदिशा र नियामकीय व्यवस्था यथावत, मुद्रास्फीति साढे ५ प्रतिशत भित्रै रहने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा र नियामकीय व्यवस्थाहरु यतावत राख्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । जसमा पश्चिम एसियामा युद्ध सुरु भएयता पेट्रोलियम पदार्थ, उद्योगको लागि आवश्यक कच्चा पदार्थ र कतिपय उपभोग्य वस्तुहरूका मूल्य बढेपनि चालु आर्थिक वर्षको औसत मूल्यवृद्धि दर (मुद्रास्फीति) लक्ष्यित सीमाभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।

समिक्षामा राष्ट्र बैंकले पश्चिम एसियाको तनाबको असरले नेपालमा पनि आपूर्ति श्रृङ्खला प्रभावित भएपनि औसत मूल्यवृद्धिदर लक्ष्यित सीमा साढे ५ प्रतिशत भित्रै रहने प्रक्षेपण गरेको हो ।

राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र सहज स्थितिमा रहेको पनि दाबी गरेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्म रेमिट्यान्स आप्रवाह उल्लेख्य रुपमा बढेकाले चालु खाता र शोधनान्तर स्थिति बचत रहेको र विदेशी मुद्रा सञ्चिति लगातार बढ्दोक्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तर, नेपालमा करिव ४० प्रतिशत रेमिट्यान्स आप्रवाह पश्चिम एसियाबाट प्राप्त हुने गरेकाले सो क्षेत्रमा जारी तनाव कायम रहेमा यो प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुने समेतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम रहेको समिक्षामा उल्लेख छ । तथापि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता यस बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण छ ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढेतापनि आर्थिक गतिविधि सुधारसँगै यस्तो कर्जामा सुधार आउने राष्ट्र बैंकको अपेक्षा छ । ‘२०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको छ । समग्रमा वित्तीय स्थायित्व कायम छ,’ समिक्षामा भनिएको छ ।

विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहँदै आएको छ । यसरी वित्तीय प्रणालीमा लामो समय अधिक तरलता रहँदा विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमका लागि बैंक सजग रहेको दाबी राष्ट्र बैंकको छ ।