विश्वकप छनोटः नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं, २१ कात्तिक । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ।

नेपालले मंसिर ३ गते दशरथ रंगशालामा खेल्ने तय गरेपनि रंगशाला पुनर्निमाणमा भएको ढिलाइका कारण नेपाली टोलीले कुवेतविरुद्धको खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विज्ञप्तीमा उल्लेख छ। यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी सुरु गरेको जनाएको थियो ।

खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ। एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको छ ।

यसअघि मंगलबार एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए।

उनी रंगशालाको स्थिति देखेर असन्तुष्ट भएका थिए। नेपालले अवे खेलमा कुवेतसँग ७–० को नतिजा सुम्पिएको थियो भने चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यस्तै अस्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो।

विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here