गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १० खर्ब २६ अर्ब रुपैयाँ अर्थात् ३८.३ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ वैशाख मसान्तमा २४।० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । यस वर्ष कम्तीमा ७ महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने राष्ट्र बैंकको लक्ष्य थियो ।
२०८३ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ६०.७ प्रतिशत हो ।
