इतिहासकै ठूलो विश्वकप फूटबल आजबाट, १० बुँदामा बुझौं मूख्य विशेषता

२७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिता आजबाट सुरु हुँदैछ । यो सहभागिताका दृष्टिकोणले यति भब्य हुन लागेको हो ।

उत्तर अमेरिकाका तीन राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको—ले फिफा विश्वकप संयुक्त रूपमा आयोजना गर्दैछन् । यो २३औँ संस्करणको विश्वकप हो । सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे शुरु हुनेछ ।

विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा जम्मा भइरहेका छन् । त्यसका लागि लाखौं दर्शक प्रत्यक्ष रुपमा खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट प्रत्यक्ष फुटबलको मज्जा लिनका लागि तयार छन् ।

४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर यो फुटबल महाकुम्भका लागि तयार भएका छन् । फिफा विश्वकप २०२६ विश्वकपको अर्को संस्करण मात्र होइन । यो फुटबल इतिहासमै सबैभन्दा ठूलो र भव्य विश्वकप समेत बन्दैछ । फिफा विश्वकपको करिब एक सय वर्ष लामो इतिहासमा २३औं संस्करण अहिलेसम्मकै ठूलो र ऐतिहासिक छ ।

विश्वकप शुरु हुनुअघि नै यस संस्करणमा धेरै कीर्तिमानहरु बनिसकेका छन् । अब विश्वकप सुरु भएपछि मैदान भित्र फुटबल खेलाडीहरुले पनि अझ अरु कीर्तिमान थप्न सक्छन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । सन् १९३० मा उरुग्वेबाट शुरु भएको फिफा विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्र संयुक्त रुपमा आयोजक बनेका हुन् ।

यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ । जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो ।

फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाबाट ६६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् । टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ ।

VANCOUVER, CANADA – JULY 26: FIFA World Cup Trophy is displayed at Grouse Mountain on July 26, 2024 in Vancouver, Canada. (Photo by Ethan Cairns/Getty Images for FIFA)

१. ४८ टोली सहभागि
सन् १९९८ देखि चल्दै आएको ३२ टोलीको ढाँचालाई परिवर्तन गरी पहिलो पटक ४८ राष्ट्रहरूले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। यसले गर्दा एसिया र अफ्रिकाका थप देशहरूलाई विश्वकप खेल्ने अवसर मिलेको छ ।

२. तीन देशद्वारा संयुक्त आयोजना
विश्वकपको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रहरूले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले मात्र संयुक्त आयोजना गरेका थिए।

३. १०४ खेलको कीर्तिमान
टोली संख्या बढेसँगै खेलको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। यसपटक कुल १०४ खेलहरू हुनेछन्, जबकि यसअघि ६४ खेल मात्र हुने गर्थे। प्रतियोगिता झण्डै ४० दिनसम्म चल्नेछ।

४. नयाँ समूह ढाँचा
सहभागी ४८ टोलीहरूलाई १२ वटा समूहमा विभाजन गरिनेछ ९प्रत्येक समूहमा ४ टोली० । समूहका शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो हुने ८ टोलीहरू अर्को चरणमा प्रवेश गर्नेछन्।

५.राउन्ड अफ ३२ को सुरुवात
खेल संख्या बढेकाले नकआउट चरणमा अब सिधै राउन्ड अफ १६ नभई राउन्ड अफ ३२ बाट सुरु हुनेछ। यसको अर्थ विश्वकप जित्ने टोलीले अब कुल ८ वटा खेल खेल्नुपर्नेछ।

६. १६ आयोजक सहर र अत्याधुनिक रंगशालाहरू
प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ वटा सहरमा आयोजना हुनेछ। खेलहरू विश्वकै अत्याधुनिक र उच्च क्षमताका रंगशालाहरूमा खेलाइनेछन्।

७. ऐतिहासिक रंगशाला एज्तेका
मेक्सिकोको एस्टेडियो एज्तेका रंगशाला तीनवटा विश्वकप ९१९७०, १९८६ र २०२६० आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ। उद्घाटन खेल यही ऐतिहासिक मैदानमा हुने तय भएको छ।

८. फाइनल खेल न्यु जर्सीमा
विश्वकप २०२६ को फाइनल खेल १९ जुलाईमा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जसको दर्शक क्षमता ८२,५०० भन्दा बढी छ।

९. डिजिटल अवतार र एआई प्रविधि
खेलाडीहरूको प्रदर्शन विश्लेषणका लागि ३डी डिजिटल अवतार र अत्याधुनिक जेनेरेटिभ एआई को प्रयोग गरिनेछ। यसले दर्शकहरूलाई खेलको विस्तृत तथ्याङ्क र नयाँ अनुभव प्रदान गर्नेछ।

१०. ठूलो आर्थिक लक्ष्य र पर्यटन
फिफाले यस विश्वकपबाट करिब ११ बिलियन डलर आम्दानी गर्ने लक्ष्य राखेको छ। तीनवटा देशमा आयोजना हुने हुनाले लाखौँको संख्यामा पर्यटकहरू उत्तर अमेरिका पुग्ने र यसले ठूलो आर्थिक हलचल ल्याउने अपेक्षा गरिएको छ।
एजेन्सीहरुको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here