२१ असार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ ।
मन्त्री सिता बादीको नेतृत्वमा सम्पन्न १०० दिनका प्रमुख उपलब्धिमा सुत्केरीको उद्धारदेपखि सडक बालबालिकाको व्यवस्थापनसम्म समेटिएका छन् । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका ३० जना गर्भवती, सुत्केरी तथा नवजात शिशुको हवाई उद्धार गरिएको छ । यस्तो सेवा हालसम्म ९३९ जनाले सेवा प्राप्त गरेका छन्।
९९ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापना गरिएको छ। हालसम्म २,६९६ जना सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन गरिएको छ।
हराएका २,४४० बालबालिकामध्ये २,०४६ जनाको खोजी तथा परिवारसँग पुनर्मिलन गराइएको छ। हालसम्म ५५,८४७ जना हराएका बालबालिकाको खोजी तथा व्यवस्थापन गरिएको छ। लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानून तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ।
बालबालिका सम्बन्धी नियमावली, २०७८ संशोधन तथा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। मन्त्रालयका सम्पूर्ण प्रशासनिक कार्य अनलाइन प्रणालीमार्फत डिजिटल रूपमा सञ्चालन गरिएको छ।
अनलाइन प्रणालीमार्फत मन्त्रीसमक्ष सिधै गुनासो दर्ता र तत्काल सम्बोधन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। महिला हिंसा (११४५), हराएका बालबालिका (१०४) र बाल हेल्पलाइन (१०९८) २४सै घण्टा सञ्चालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीमा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको छ। भारतको कोलकातास्थित सोनागाछीबाट नुवाकोटका दुई बालिकाको उद्धार तथा भारतको कुशीनगरबाट ४५३ जनाको उद्धार गरिएको छ। २२ वटा सङ्घीय मन्त्रालयको पहुँचयुक्तता अडिट सम्पन्न गरिएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा साङ्केतिक भाषा दोभाषे तथा क्याप्सनिङ सेवा कार्यान्वयन गरिएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ४ वटा साधारण सम्झौता र २४ वटा परियोजना सम्झौताका लागि सहमति प्रदान गरिएको छ।
यसबीचमा मन्त्री बादीले समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, दीर्घकालीन पुनर्स्थापना केन्द्र, सिंहदरबार दिवा शिशुस्याहार केन्द्र, बालसुधार गृह, एसओएस बालग्राम, अटिजम विद्यालय लगायतका संस्थाहरूमा आकस्मिक अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन प्रदान गरिएको थियो ।
मुस्कान सेवा बालगृहबाट ८ जना बालबालिकाको सुरक्षित स्थानान्तरण तथा बुढानिलकण्ठस्थित इस्कनमा बाल दुर्व्यवहार घटनापछि आकस्मिक स्थलगत अनुगमन गरिएको थियो ।
