रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु

१३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक बिहान ८ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु जाने क्रम जारी छ ।

बैठकमा सहभागी हुन नेकपाका संयोजक प्रचण्ड समेत सिंहदरबार पुगेका छन् । सीके राउत, उपेन्द्र यादवलगायत मधेशबादी दलका नेतासमेत बैठकमा सहभागी हुँदैछन् ।

छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै र मधेशवादी दललाई आमन्त्रण गरिएको छ । सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्राचार गरिसकिएको छ । साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

‘अत्यन्तै संवेदनशील र दुखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने ।