१८ साउन, काठमाडौं । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा अहिले पनि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो हकमा पनि धेरैजसो भूभागमा वर्षाको सम्भावना छ । पहाडी भेगका केही ठाउँमा भारी वर्षाको र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।
आज खासगरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भू भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
आज काठमाडौं उपत्यकामा पनि वर्षा जारी रहने सम्भावना छ । केहीबेर पानी पर्न रोकिएजस्तो भए पनि पुनस् पानी पर्ने सम्भावना रहेको मौसमविद दाहालले बताए । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।
