काठमाडों। ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ ।
उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन् । ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य फेस्टलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय पहुँच भएका दर्शकसम्म पु¥याउनु हो । यसबाट स्वदेशी उत्पादन र सेवाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोग व्यापक बन्दै जाँदा सामाजिक सञ्जाल र कन्टेन्ट मार्केटिङको स्वरूप परिवर्तन भएको सन्दर्भमा फेस्टलाई पनि डिजिटल माèयमसँग जोडिएको हो । यसले नेपाल बाहिर रहेका नेपाली ग्राहकलाई समेत नेपालको निर्माण क्षेत्रको अहिलेसम्मकै ठूलो मेलासँग जोड्ने विश्वास गरिएको छ ।
अघिल्लो वर्ष १५० स्टल राखिएकोमा यस पटक २०० बढी स्टलहरु राखिने छन् । प्रदशनीका लागि स्टल बुकिङमा यसपटक व्यवसायीको उत्साहित भएका छन् । हालम्म ६० प्रतिशत बुकिङ भइसकेको घर निर्माण फाउण्डेसनले जनाएको छ । नयाँ स्वरुपमा आयोजना गर्न लागिएको यस पटकको फेस्टमा अवलोकन गर्न आउने दर्शकको संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान गरिएको छ भने कारोबार रकम समेत रु. ४ अर्ब बढी हुने लक्ष्य राखिएको छ ।
घर निर्माणका लागि आवश्यक निर्माण सामग्री र सम्पूर्ण जानकारी बारेमा अवलोकनकर्ताका लागि सञ्चालन गर्न लागिएको फेस्टमा ट्राइनोक्स ग्लोबलले सहकार्य गरेको छ ।
गत वर्षको घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । सो प्रदर्शनीमा सहभागी विभिन्न व्यवसायीले कुल साढे ३ सय करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए ।
