१ भदौ, काठमाडौं । सरकारले कर प्रोत्साहन पुरस्कारको दोस्रो चरणको विजेता घोषणा गरेका छ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ ।
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले सो पुरस्कार जितेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले यो घोषणा गरेको हो ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका हुन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ।
साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ।
जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्।यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।
