३ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो ।
साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागी मध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरि १७ जना उपभोक्ता छनोट गरिएको थियो ।
त्यसै मध्येका बम्पर उपहार पुडासैनीले जित्नुभएको हो । उहाँले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारमा छानिएको हो ।
उहाँ नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छन् ।
अर्थ मन्त्रालयसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए ।
‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छु । मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ, उनले भने, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’
उनले सबैलाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि उनले आग्रह गरे ।
