त्रिशुली–३ ‘ए’मा केबल आउटलेट टनेलबाट प्रवेशको प्रयास हुँदै

काठमाडौं, १४ भदौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) भेटिएको र त्यसलाई एक्साभेटर प्रयोग गरेर फुटाई खुलाउने कार्य अघि बढाएको छ। अवरोध हटाएर सुरुङमा सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउन पहल भइरहेको छ।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । साथै, उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ ।

प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ ।

यसैविच, प्रधानमन्त्री कार्यालयका अनुसार नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग (‘क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।