अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराजमा

२५ भदौ, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज प्रस्थान गरेको छ ।

मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग राईमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज पुगेका छन् ।

मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत सोधेको छ। घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अध्ययन तथा आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ।