पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

काठमाडौँ, १ असोजः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना गर्न लागिएको सो एक्स्पो पाँचौँ संस्करणको हो ।

तीनदिन चल्ने सो एक्स्पोले जलविद्युत्, सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रीड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए ।

एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ ।

सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञ एक्स्पोमा सहभागी हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

अन्तरराष्ट्रिय कम्पनी तथा विदेशी प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तरराष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्रदान गर्नेछ ।

यसपटक एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाउन लागिएको छ । यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहेका छन् ।

एक्स्पोका प्रमुख आकर्षणमा बिटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजनास्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, इभी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना हुनेछ ।

नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि इप्पानको सबैभन्दा ठूलो निजी क्षेत्रकेन्द्रित वार्षिक इभेन्टका रूपमा ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृङ्खलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको इपानका महासचिव टिएन आचार्यले जानकारी दिनुभयो । प्रदर्शनीका साथै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

हाल देशको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको छ । आगामी सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य छ । उक्त लक्ष्य केवल घरेलु विद्युत् माग पूरा गर्नमा सीमित नभई औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग जोडिएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।