काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुन: सुचारू भइसकेको छ ।
नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सूचारु गरिएको थियो ।
बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ । उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत सेवा सुचारू गरिएको प्रवक्ता शाक्यले बताए ।
उनकाअनुसार राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सुचारू भइरहेको छ ।
