बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे मन्त्रीद्वयबाट जानकारी

काठमाडौँ, ६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिएका छन् ।

मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाकोे गतिविधि बढ्ने जनाएको थियो । बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुगेका हुन् ।

उनीहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिएको विभागले जनाएको छ । “उक्त प्रणालीको प्रभावले भोलि (बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने छ”, विभागले जनाएको छ ।