पछिल्लो वर्षा र बाढीबाट २७ जनाको मृत्यु, १०६५ परिवार प्रभावित

१२ असोज, काठमाडौं । अविरल वर्षाले देशभरी २७ जनाको ज्यान गएको छ । असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

७ जना घाइते र ४ जना सम्पर्कविहीन छन् । यस अवधिमा भएका ५१३ वटा मनसुनका घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन्। यसैगरी, २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ भने २७ गोठ र ११४ पशुचौपायामा क्षति पुगेको छ।

यस्तै, दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणाली लगायतका पूर्वाधारहरूमा पनि क्षति पुगेको छ। बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा सरकारले अहोरात्र आफ्ना संयन्त्रहरू परिचालन गरी मर्मतपश्चात् सञ्चालनमा ल्याइसकेको छ।

पृथ्वी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा गएको पहिरो पन्छाइएको छ भने एकतर्फी सडक सञ्चालनमा आइसकेको छ। यसैगरी नारायणी-मुग्लिन खण्डको सिमलताल नजिक भासिएको स्थानमा मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको छ।

बिपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। थप क्षति नभएमा भोलि साँझसम्म सञ्चालनमा आइसक्नेछ।

कालिगण्डकी कोरिडोरमा पनि यातायात अवरुद्ध छ। बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिएको तथा पुलको एप्रोच बगेको छ। पहिरो पन्छाउने कार्य जारी छ भने सम्पूर्ण सडक सुचारु हुन ३ दिनभन्दा बढी समय लाग्ने प्रारम्भिक आकलन गरिएको छ।

यस्तै, अवरुद्ध भालुवाङ–चकचके–लिवाङ सडकमा पनि पहिरो पन्छाएर यातायात सञ्चालन भइसकेका छन्। बेसिसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायतका स्थानमा पहिरो हटाइ पूरै सडक सुचारु हुन ३ दिन लाग्ने देखिन्छ।

त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कता अपनाइ यातायात सञ्चालनमा ल्याइएको छ। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसेको भए पनि सडक खुलाउने काम तीव्र ढंगले भइरहेकाले भोलिसम्म यातायात सञ्चालन हुनेछ।

त्यसैगरी, बाढीका कारण कालीगण्डकी कोरिडोर, मर्स्याङ्दी र सेती(मादी कोरिडोर लगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो।

तीमध्ये सेती–मादी कोरिडोरमा रहेका कुल २६२ मेगावाट र मर्स्याङ्गदी कोरिडोरमा १९० मेगावाटका जलविद्युत् केन्द्रहरु सञ्चालनमा आएका छन्। बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालिगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। यसैगरी क्षतिग्रस्त राहुघाटको जलविद्युत् आयोजना पनि सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ। कुस्मा(दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसकेका ७ वटा जलविद्युत् केन्द्रहरूको १९० मेगावाट क्षमता रहेको छ।

राहुघाट सवस्टेशनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाटको उत्पादन सञ्चालनमा आउनसक्ने अवस्था छ। यसैगरी कालिगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना(कुस्मा खण्डको टावर नं २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यसैगरी क्षति पुगेको दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। नेपाल टेलिकमका १,१३२ टावरको नेटवर्क विच्छेद भएकामा अहिले ७८२ वटालाई सञ्चालनमा ल्याइएको छ। यस्तै, एनसेलको १६२ वटा नेटवर्क विच्छेद भएकोमा १०५ वटालाई मर्मत गरिएको छ।

नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेको सुस्ताबासीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका स्थानीयलाई स्थानान्तरण गरिएको छ। यसैगरी, सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि तिलाठी कोईलाडी गाउँपालिकामा डुबानमा परेका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा प्रतिस्थापन गरिएको छ।

सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती डुबानमा पारेको छ। यस्तै, रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्रहरू प्रभावित भएका छन्। तिनाउ नदीको किनारमा रहेका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगर लगायतका डुबानमा परेका तटीय क्षेत्रका बस्तीहरुबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका एक हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेका थिए।

बाढी र पहिरोका कारण मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ, म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लाहरू पनि प्रभावित भएका छन्। यहाँका प्रभावित नागरिकलाई सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले अझै मौसमजन्य खतरा नटरेको र जोखिम कायमै रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।